top
ImageKhabar
आईतवार, 5 साउन, 2076 Sunday, July 21, 2019

ImageKhabar Archive

दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान  |  Published: January 24, 2016  |  आईतवार 10 माघ, 2072  |  4:53 PM  |  Viewed: 1783 times

काठमाडौं, माघ १० । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

राखेपले आज राजधानीमा एक कार्यक्रम गरी अहिलेसम्म नेपालका लागि सागमा स्वर्ण पदक जितेका सबै १०३ खेलाडीलाई जनही २,५०० रुपैयाँसहित सम्मान गरेको हो ।

कार्यक्रममा राखेपका सदस्यसचिव केशव बिष्टले पुरस्कार राशी कम भए पनि देशका लागि योगदान गरेका खेलाडीलाई सम्मान गर्ने संस्कारको विकास गरिएको बताए । राखेपले यो महिनादेखि सागका स्वर्ण पदक बिजेता सम्पूर्ण नेपाली खेलाडीलाई मासिक २,५०० रुपैयाँ भत्ता दिने ब्यवस्था गरेको सदस्यसचिब बिष्टले जानकारी दिए ।

यसैबीच राखेपले यसपटकदेखि दक्षिण एसियाली खेलकुदमा ब्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ४ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

राखेपले एसियाली खेलकुदमा स्वर्ण पदक जित्नसके २५ लाख, रजत जिते १५ लाख र कास्य बिजेतालाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै, ओलम्पिकमा स्वर्ण पदक जित्न सके १ करोड, रजत जिते ७५ लाख र कास्य पदक जिते ५० लाख दिने राखेपले घोषणा गरेको छ ।

सदस्यसचिव बिष्टले राखेपको बिधानमै पुरस्कारको राशी तोकिइसकेकाले नेतृत्व फेरिए पनि खेलाडीले पुरस्कार पाउने दाबी गरे । उनले सागमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमशः मासिक ५ हजार, ३ हजार र १५ सय भत्ता दिने पहल भइरहेको जानकारी दिए ।

यस्तै एसियन गेम्समा स्वर्ण, रजत र कास्य पदक जित्नेलाई १५ हजार, १० हजार र ५ हजार तथा ओलम्पिकमा स्वर्ण, रजत र कास्य पदक जित्न सके २५ हजार, १५ हजार र १० हजार मासिक भत्ता दिने पहल भइरहेको उनको भनाइ थियो ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell