top
ImageKhabar
शुक्रबार, 6 मंसिर, 2076 Friday, November 22, 2019

ImageKhabar Archive

कांग्रेसले जिल्ला सभापतिहरुको पदावधि विवाद टुंग्याउँदै  |  Published: January 25, 2016  |  सोमबार 11 माघ, 2072  |  7:35 AM  |  Viewed: 712 times

काठमाडौं, माघ १० । नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको पदावधि ११ औं महाधिवेशनदेखि गणना गर्ने या १२ औं देखि गर्ने भन्ने टुङ्गो सोमबार लगाउने भएको छ । यस विषयमा निर्णय गर्न सोमबार बिहान कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

यसअघि आइतबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले पार्टी विधानमा उल्लेखित जिल्ला सभापतिहरुको कार्यकाल बढीमा दुई पटकमात्र हुने व्यवस्थाको व्याख्या गर्न केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

यसैबीच, कांग्रेसको यही १५ गतेका लागि तय भएको गाउँ तथा नगर अधिवेशन सोही मितिमै हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले अधिवेशन सर्ने कुनै सम्भावना नभएको बताए । उनले अधिवेशनको तयारी तीव्र तरिकाले भइरहेकाले निर्धारित समयमै सबै अधिवेशन सम्पन्न हुने बताए ।

सबै जिल्लामा निर्वाचन अधिकारी गइसकेको र निर्वाचनका लागि आवश्यक सामग्री पनि पठाइसकिएकाले अधिवेशन नसर्ने उनको भनाइ छ ।

कांग्रेसको गाउँ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते शुक्रबार हुने तय भएको छ । त्यही दिन हुन नसकेको नगरस्तरको अधिवेशन भने १६ गते गर्न सकिने व्यवस्था कांग्रेसको निर्वाचन समितिले मिलाएको छ ।

कांग्रेसको गाउँ तथा नगर अधिवेशनमा चार लाख ७० हजार ६५५ जना क्रियाशील सदस्य सहभागी हुन पाउने छन् । उनीहरुले गाउँ तथा नगरको कार्यसमिति, महाधिवेशन प्रतिनिधि र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छन् ।

निर्वाचन क्षेत्रस्तरको अधिवेशन भने माघ २२ गते, जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गते देखि २३ गतेसम्म गर्ने कार्यक्रम छ ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell