top
ImageKhabar
मंगलवार, 3 पुष, 2075 Tuesday, December 18, 2018

ImageKhabar Archive

कांग्रेस विधानको प्रस्तावनामा सुवर्ण शमशेरको नाम राखिने भीष्मराज ओझा  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  3:03 PM  |  Viewed: 1301 times

काठमाडौं, माघ १२ । मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाम राख्ने तयारी थालेको छ ।

‘नेपाली कांग्रेसको विधान, २०१७’ को प्रस्तावनामा पार्टीका संस्थापक तथा अग्रज नेता बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको नाम उल्लेख गरी उनीहरुको योगदानबारे चर्चा गरिएको छ ।

तर, प्रस्तावनामा पार्टीको स्थापनाकालदेखि नै जहानियाँ राणा शासनविरुद्ध सशस्त्र युद्धको नेतृत्व गर्नुका साथै पार्टीलाई आर्थिकरुपमा भरमग्दुर सहयोग गरेका संस्थापक नेता सुवर्णको नाम उल्लेख छैन । पार्टीका अधिकांश सभा, सम्मेलन र कार्यक्रममा संस्थापक भनेर नेता शमशेरको नाम उल्लेख गरिन्छ र उनका योगदानलाई पनि सम्झिइन्छ ।

पार्टीको १३औं महाधिवेशनको तयारीका लागि विधानमा आवश्यक संशोधन गर्न हाल पार्टीका संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित विधान संशोधन समितिले प्रस्तावनामा संस्थापक नेता सुवर्णको नाम राख्ने बारेमा छलफल अघि बढाएको छ ।

स्थापनाकालदेखि नै पार्टी र प्रजातन्त्रका लागि अतुलनीय योगदान पुर्‍याएका नेता सुवर्णको नाम राख्नेबारेमा सुझाव आएको र सोहीअनुसार प्रस्तावनामा उनको नाम राख्नेबारेमा छलफल भएको समितिका सदस्य जीवन परियारले बताए ।

तत्कालीन अन्योलपूर्ण राजनीतिक अवस्थामा नेता सुवर्ण नेतृत्वको सरकारले नै २०१५ सालमा मुलुकमा पहिलो संसदीय निर्वाचन सम्पन्न गरेको थियो । सो निर्वाचनमा कांग्रेसले दुईतिहाइभन्दा बढी बहुमत प्राप्त गरी बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

जिल्ला कार्यसमिति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट विभिन्न सुझाव आएकाले सोहीबमोजिम विधान संशोधन गर्न तयारी थालिएको नेता परियारले बताए ।

‘प्रस्तावनामा नेता सुवर्णको नाम छुटेको रहेछ, त्यसलाई समेट्न प्रस्तावनादेखि नै विधान संशोधन गर्ने तयारी थालेका छौं’–नेता परियारले भने ।

समितिले प्रस्तावनामा सभापति सुशील कोइराला नेतृत्वको सरकारको सक्रियतामै मुलुकमा संविधानसभाबाट पहिलोपटक संविधान जारी भएको ऐतिहासिक कार्यलाई पनि समावेश गरिने भएको छ ।

वि.सं २००३ माघ १२ गते गठन भएको नेपाली राष्ट्रिय कांग्रेस र २००५ साल साउनमा गठन भएको नेपाल प्रजातन्त्र कांग्रेसको एकीकरणपछि २००६ सालमा नेपाली कांग्रेसको स्थापना हुँदासम्म नेता सुवर्णले अतुलनीय योगदान गरेको कांग्रेसको इतिहास लेखेका नेता पुरुषोत्तम बस्नेतले बताए ।

वि.सं २००३ मा स्थापित राष्ट्रिय कांग्रेसले जहानियाँ राणा शासनविरुद्ध अहिंसात्मक आन्दोलन थालेको थियो । आन्दोलन प्रभावकारी नहुँदा नेता सुवर्ण अधिनायकवादी सरकारविरुद्ध सशस्त्र आन्दोलन नगरेसम्म सफल नहुने भन्दै प्रजातन्त्र कांग्रेस स्थापनामा लागेका थिए ।

सोहीअनुसार पछि दुबै कांग्रेसको एकीकरण र सशस्त्र युद्धले मात्र राणाशासन अन्त भइ प्रजातन्त्रको स्थापना भएको नेता बस्नेतले बताए । नेता बस्नेतले सुवर्णको नाम प्रस्तावनामा छुट्न नपर्ने हो भन्दै अब थप्न सुझाव दिए ।

नेता सुवर्णले २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक सरकार विघटन गरेपछि बीपी, गणेशमान र भट्टराईलगायत प्रमुख नेता जेलमा हुँदा राजाको उक्त कदमविरुद्ध बाहिर बसेर निरन्तर आन्दोलनको नेतृत्व गरे । त्यसबारेमा बीपी कोइरालाले आफ्नो आत्मवृतान्तमा धेरै कुरा उल्लेख गरी सुवर्णको भूमिकाको प्रशंसा गरेका छन् ।

समितिका सदस्य डा. प्रकाशशरण महतले प्रस्तावनामा नेता सवुर्णको नाम, उनले पार्टी र मुलुकलाई गरेको योगदान उल्लेख गर्न छुटेकाले समावेश गर्ने तयारी भइरहेको बताए ।

०७ सालको अधिकांश सशस्त्र मोर्चाको कमान्डरसमेत रहेका संस्थापक नेता सुवर्णका सुपुत्र रुक्मशमशेर राणाले प्रस्तावनामा सबै संस्थापक नेताको नाम र उनका योगदानबारे उल्लेख गरी सुर्वणको नाममात्र छुट्नु पक्षपातपूर्ण भएको बताए ।

‘मसँग कुरा गर्दा सबै नेता ठिकै छ भन्छन्, बुबाको योगदानको चर्चा पनि गर्छन्, तर, व्यवहारमा त्यो देखिएन’–राणाले भने ।

०१७ सालमा बीपी जेल परेयता आफ्नो जीवनको अन्तिम क्षणसम्म नेता सुवर्णले कांग्रेसको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । उनको २०३४ सालमा निधन भएको थियो ।

सुर्वणका छोरा राणाले वि.सं २०४८ मा राष्ट्रियसभा सदस्य हुँदै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनमा खेलकुद क्षेत्रको महत्वपूर्ण जिम्मेवारीसमेत सम्हाले । पछि राणा राजदूतसमेत भए ।

प्रजातान्त्रिक आन्दोलनका क्रममा नेता सुवर्ण प्रवासमा जाँदा उनको कतिपय जग्गा–जमिन तत्कालीन सरकारले हडपेको थियो । केही सम्पत्तिपछि राष्ट्रियकरण गरियो ।

हालको नेपाल राष्ट्र बैंक, प्रधानमन्त्री निवास र प्रधानन्यायाधीशको निवास रहेको जग्गा एवं घर उनकै थियो । रासस

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell