top
ImageKhabar
शनिबार, 3 कार्तिक, 2075 Saturday, October 20, 2018

ImageKhabar Archive

कांग्रेसको कारण संसद बैठक सारियो  |  Published: January 26, 2016  |  मंगलवार 12 माघ, 2072  |  7:08 PM  |  Viewed: 629 times

काठमाडौं, माघ १२ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सामाजिक न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन २०७२ लाई समितिका सभापति सुशीलकुमार श्रेष्ठले सदनसमक्ष पेस गरेका छन् ।

प्रतिवेदन प्रस्तुत गर्दै उनले राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन संसदमा पेस गर्न सभामुखसँग सरकारलाई रुलिङका लागि माग गरे ।

उनले बेपत्ता छानबिन आयोग तथा सत्य निरुपण आयोगसम्बन्धी नियमावली जारी गर्न पनि सभामुखले सरकारलाई रुलिङ गर्न माग गरे ।

यसैगरी, बैठकले ‘व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार सम्झौता संशोधन’ ‘प्रोटोकल’लाईसमेत सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

सभामुख ओनसरी घर्तीले सो प्रोटोकललाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।

सरकारकै मन्त्री किन विपक्षमा ?
बैठककोे विशेष समयमा नेपाली कांग्रेसका रमेश लेखकले सरकारद्वारा प्रस्तुत नेपालको संविधान संशोधन प्रस्तावमा सरकारमै सहभागी दलले विपक्षमा मतदान गर्नु कहाँको संसदीय व्यवस्था हो ? भन्ने प्रश्न गरे ।

उनले ‘संसदीय लोकतान्त्रिक व्यवस्थामा सदनमा गणपूरक संख्या पुर्‍याउने जिम्मेवारी सरकारकै हो’–भने ।

नेकपा एमालेका का दीपक कार्कीले ‘झापामा सडक बन्दै जान्छ, कालोपत्रे उप्किदै जान्छ, यो कस्तो निर्माण प्रक्रिया हो ?’ भन्ने प्रश्न गर्दै ‘पुल समयमै सम्पन्न हुँदैन’–भने । उनले स्थानीय विकास निर्माण समयमै सम्पन्न गर्न माग गरे ।

एकीकृत नेकपा माओवादीका अमनलाल मोदीले भूकम्प र नाकाबन्दीले थिलथिलोमा परेको जनतालाई थप राहत प्रदान गर्न माग गर्दै मोरङको रंगेली घटना के कारणले भयो यसकाबारेमा न्यायिक छानबिन समिति गठन गर्न माग गरे ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा बैठक बहिस्कार
व्यवस्थापिका–संसदको बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीसँग समय माग गरी सांसद वृजेशकुमार गुप्ताले तराई–मधेस आन्दोलन सुरु भएको पाँच महिना बितिसक्दा पनि आन्दोलनकारीका मागप्रति सरकार र सरकारमा सहभागी दल तथा प्रमुख प्रतिपक्षी दलसमेत गम्भीर बन्न नसकेको आरोप लगाए ।

उनले नयाँ संविधान आउनुअघि नै मधेस आन्दोलित रहेको चर्चा गर्दै आन्दोलनका माग सम्बोधन गर्न संविधान पुनः संशोधन गर्न माग गरे ।

सांसद धर्मेन्द्र साहले मधेस आन्दोलन सुरु भएको १६९ दिन बितिसक्दा पनि आन्दोलनकारीका माग पूरा नहुनु चिन्ताको विषय भएको बताए ।

यसपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दलका सांसद बैठकबाट बाहिरिएका थिए ।

व्यवस्थापिका–संसदको अर्काे बैठक यही माघ २८ गते बिहीबार दिनको ११ बजे बस्नेछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आग्रहमा सदनको बैठक केही दिनका लागि पर सारिएको हो ।

कांग्रेसको महाधिवेशनअन्तर्गत् गाउँ/नगर तहको महाधिवेशन यही माघ १५ गतेदेखि सुरु हुँदैछ भने राष्ट्रिय महाधिवेशन अगामी फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । रासस

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell