top
ImageKhabar
मंगलवार, 13 जेष्ठ, 2077 Tuesday, May 26, 2020

ImageKhabar Archive

कांग्रेस अब सरकारमा आउँछ, मैले बोल्दा हावादारी भनिन्छ : प्रधानमन्त्री ओली  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  7:34 AM  |  Viewed: 3617 times

काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले असहज स्थिति सहज नभएसम्म आफू छिमेकीमुलुक भारत भ्रमणमा जानु वाञ्छनीय नभएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विभिन्न दैनिक पत्रिकाका सम्पादक र वरिष्ठ पत्रकारसँगको छलफलमा प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे सोधिएको प्रश्नमा अघोषित नाकाबन्दी र आपूर्ति व्यवस्थापनको असहजता अन्त्य भएपछि मात्रै भ्रमणमा जाने संकेत गरेका हुन् ।

उनले नेपाली कांग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गरे । ‘संविधान बनाउँदा सहकार्य गरेको कांग्रेस यसको कार्यान्वयन गर्ने बेला सरकारबाहिर हुन हुँदैनथ्यो, अब कांग्रेस बाहिर हुँदैन, सरकारमा आउँछ’–प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल कसैको पनि बैरी नभएको उल्लेख गर्दै घोषणा नगरी भएको नाकाबन्दी घोषणा नगरी नै खुल्ने विश्वास व्यक्त गरे ।

उनले भने–‘मित्रभावमाथि म विश्वास गर्छु, मैले यसैको आधारमा नाकाबन्दी खुल्छ भनेको हुँ, यो नाकाबन्दी एक/दुई दिनमै खुल्ने अपेक्षा गरेको छु ।’

आपूर्ति व्यवस्थापनको असहजता आफू सरकारमा आउनुअघिदेखिकै समस्या भएको भन्दै उनले यस्तो समयमा पनि मुलुकलाई स्वाधीन र विकासशील बनाउन सरकार क्रियाशील रहेको बताए ।

उनले भने–‘विकास निर्माणका योजना र कामबारे मैले बोल्दा हावादारी भनिन्छ, के यस्तो बेलामा सरकार पासा खेलेर बस्ने ?’

मुलुकमा पृथकतावादी चिन्तनको विकास भएको भन्दै उनले लोकतान्त्रिक मान्यताअनुसार मुलुकलाई अघि बढाउन आफू कटिबद्ध भएको बताए ।

उनले भने–‘लोकतन्त्रमा हिंसात्मक कार्य स्वीकार्य हुँदैन, अब विकासमा लाग्नुपर्छ, हामीले समय खेर फाल्ने स्थिति छैन ।’ रासस

फाइल फोटो

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell