top
ImageKhabar
मंगलवार, 25 मंसिर, 2075 Tuesday, December 11, 2018

ImageKhabar Archive

रक्सौल नाकाबाट आयात बढ्यो  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  12:13 PM  |  Viewed: 2122 times

वीरगञ्ज, माघ १३ । वीरगञ्ज–रक्सौल नाका नखुले पनि धर्नास्थल हुँदै नेपालतर्फ विभिन्न सामान आयात हुने क्रम बढेको छ । वीरगञ्ज–रक्सौल नाकाको मितेरी पुलमा नाका ठप्प पार्दै आएका मधेसी मोर्चाको कार्यकर्ताको संख्या घटेपछि सामान आयात बढ्न थालेको हो । आयात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व असुलीसमेत बढेको छ ।

व्यापारीहरुले रातको समयमा टांगा, ठेलागाडा र भरियामार्फत रक्सौलबाट मितेरी पुल हुँदै सामान ओसार्न थालेका छन् । दुई हप्तादेखि कारोबारी र व्यापारीहरुले ल्याएका सामान रक्सौल कस्टमले भन्सार प्रक्रिया पुर्‍याएर पठाउने गरेको छ ।

कपडा, तयारी पोशाक, हार्डवेयर, जुत्ता चप्पल, विद्युतीय सामानहरु, दाल लगायतका सामानहरु भरिया मार्फत नाकाबाटै भित्रिन थालेको छ । नाका हुँदै भित्रिएका सामानहरु वीरगञ्ज भन्सारको यार्डमा राखी त्यसको भन्सार प्रक्रिया पुर्‍याएर टायर गाडा, टांगा, ठेला गाडा र ट्रकमा लोड गराउनका लागि आयातकर्ताका एजेन्टहरु लागिपरेका छन् ।

रक्सौलबाट ल्याएका सामानहरु वीरगञ्ज भन्सारको यार्डभित्र रातको समयमा राख्ने र भोलिपल्ट भन्सारको प्रक्रिया पुरा गरी गन्तव्यतर्फ लैजाने गरिएको छ ।

मितेरी पुलमा आन्दोलनकारीहरु अझै धर्नामा बसेका कारण ट्रक तथा कन्टेनरमा मालसामान आयात नभए पनि दुई हप्तादेखि धर्नास्थलकै बाटो हुँदै दिनहुँ ठेला र टायरगाडाबाट पोकामा मालसामानहरु वीरगन्ज भित्रिने क्रम बढेको छ ।

धर्नामा बस्ने आन्दोलनकारीहरुको संख्या पातलिदै गएका कारण पनि व्यापारीहरुलाई सामान भित्र्याउन सहज भएको छ ।

नाकाबन्दी शुरु भएपछि वीरगञ्ज भन्सार कार्यालयको दैनिक राजश्व असुली २०/२५ हजार रुपैयाँमै सिमित हुँदै आएको थियो भने हाल सामानको आयात बढेसँगै दैनिक १५ लाखदेखि ५० लाख रुपैयाँसम्म राजश्व असुली हुने गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता सुशील शर्माले बताए ।

माघ १ देखि ११ गते सम्ममा चार करोड ३० लाख ५४ हजार आठ सय ३१ रुपैयाँ राजस्व असुली भएको प्रवक्ता शर्माले बताए ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell