top
ImageKhabar
शनिबार, 30 कार्तिक, 2076 Saturday, November 16, 2019

ImageKhabar Archive

गुल्मीमा खुल्यो अनौठो बैंक  |  Published: January 27, 2016  |  बुद्धबार 13 माघ, 2072  |  1:31 PM  |  Viewed: 6600 times

गुल्मी, माघ १३ । गुल्मीमा कपडा किन्न नसक्नेका लागि ‘क्लोथ बैंक’ अर्थात् कपडा घरको स्थापना गरिएको छ । विभिन्न समयमा विपतमा परेका तथा गरिबीका कारणले लुगा किनेर लगाउन नसक्नेका लागि क्लोथ बैंकको स्थापना गरिएको हो ।

बैंकमा जम्मा भएका कपडा असहायलाई वितरण गरिनेछ । प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा गुल्मी उद्योग वाणिज्य सङ्घको मातहतमा रहने गरी सङ्घको कार्यालयमा क्लोथ बैंक उपसमिति गठन गरेर बैंकको सुरुवात गरिएको हो ।

गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव तारा भुसालले गरिबीका कारणले कपडा किन्न नसक्नेका लागि न्यानो बाँड्ने उद्देश्यले बैंकको स्थापना गरिएको बताए । गरिब असहायलाई बाँड्ने र दाताबाट सङ्कलन गर्ने गरी बैंकको स्थापना भएको भन्दै उनले भने, ‘क्लोथ बैंकमा अहिलेसम्म रु ९३ हजार नगद र केही कपडा जम्मा भइसकेको छ ।’

विकसित देशमा यो पुरानो कुरा भए पनि नेपालजस्तो देशका लागि यो एकदमै प्रभावकारी सहयोगको कार्यक्रम भएको उनको भनाई छ । कपडा सहयोग गर्ने क्रममा थोत्रा लुगा सहयोग हुन सक्ने भएकाले बैंकमा पुराना लुगा भने सङ्कलन गरिने छैन । यसै हप्तादेखि बैंकले कपडा बाँड्न सुरु गर्नेसमेत जनाएको छ ।

यसैबीच क्लोथ बैंकलाई गुल्मेली समाज जापानले स्वेटर, टिसर्ट, भोटो, मोजा, ज्याकेट, सर्टपाइन्ट, ट्राउजर, साडी, सल, ब्ल्याङ्केट लगायतका कपडा प्रदान गरेको छ । समाजका सल्लाहकार बाबुराम भण्डारीले क्लोथ बैंकका लागि व्यक्तिगत रुपमा नगद रु ३० हजारसमेत प्रदान गरेका छन् । गुल्मीमा निकै नयाँ सोचका साथ क्लोथ बैंक खुलेको र आफूहरुलाई राम्रो लागेकाले सहयोग गरेको उनको भनाइ छ । (रासस)

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell