top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

‘भूकम्प तराई पो झर्‍यो त !’  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  10:12 AM  |  Viewed: 3402 times

काठमाडौं, माघ १४ । ‘लौ, भूकम्प त तराई पो झर्‍यो !’ सिराहाको समथर भू–भागमा बुधबार बिहान ४.२ म्याग्निच्यूट स्केलको भूकम्प गएपछि राजधानीबासीले टिप्पणी गरिहाले । बैशाख १२ को अनुकम्पनले हैरान सर्वसाधारणमा सिरहा भूकम्पले अनौंठो जिज्ञासा पैदा गरिदियो । बुधबार दिनभर यो विषय सामाजिक सञ्जाल र चिया–चर्चाको विषय बन्यो ।

justify;">भूकम्पविद भने यस्तो मान्न तयार छैनन् । चुरे र तराई क्षेत्रको भूकम्पको अध्ययन गरिसकेका भूकम्पविद डा. सोमनाथ सापकोटा भन्छन,‘बैशाख १२ पछिका शक्तिशालीदेखि स–साना भूकम्पसँग यसको कुनै सम्बन्ध छैन । सिरहा भूकम्पको स्रोत बेग्लै हो ।

उनका अनुसार बैशाखयताका भूकम्पसँग यसको सम्बन्ध नभए पनि वि.स. १९९० र २०४५ का भूकम्पसँग यसको सम्बन्ध छ । ‘त्यतिबेलाका यी शक्तिशाली भूकम्पको शक्तिको स्रोत र सिरहाकाृ भूकम्पको शक्तिको स्रोत एउटै हो । यस क्षेत्रमा एक/दुई बर्षको अन्तरालमा यस्ता भूकम्प गइरहेका छन ।’

डा. सापकोटाले दुई बर्षअघि तिब्बतिय प्लेटो र भारतीय प्लेटोको मिलनविन्दु मानिने चुरे क्षेत्रका नदीकिनारको अध्ययन गरेका थिए । उनले सिंगापुरका प्राध्यापकसँग मिलेर जमिनबाट पाँच सय मिटर गहिराइमा रहेको प्लेटो र चट्टानको अवस्था अध्ययन गरेका थिए ।

भूकम्पमापन केन्द्रका अर्का भूकम्पविद लोकविजय अधिकारीका अनुसार वि.स.१९९० मा संखुवासभामा ८.३ म्याग्निच्यूड स्केल र २०४५ मा उदयपुरमा ६.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

‘त्यतिबेलाको भूकम्पले बनाएको फल्ट जोनमै अहिले भूकम्प गएको हो, त्यसैले पनि यसको सम्बन्ध अघिल्ला यी दुई भूकम्पसँग छ’, उनले भने ।

डा. सापकोटाका अनुसार उच्च पहाडी, हिमाली क्षेत्रमा जाने भूकम्प तराई, चुरे क्षेत्रमा जाने भूकम्पको प्रकृतिबीच त्यत्तिकै भिन्नता छ । ‘उच्च क्षेत्रमा जाने भूकम्पको गहिराइ १५ देखि २० किलोमिटर हुन्छ । समथर क्षेत्र वा चुरे , तराई क्षेत्रमा जाने भूकम्पको गहिराई ५५/६० किलोमिटर हुन्छ उनले भने, भौगर्भिक बनावट अनुसार गहिराइ फरक फरक पर्छ ।’

केन्द्रका अर्का भूकम्पविद मुकुन्द भट्टराईका अनुसार सिरहा पनि विगतमा गएका ठूला भूकम्पले असर पारेको स्थानमा पर्छ । ‘त्यतिबेलाको भूकम्पले त्यस क्षेत्रको जमिनमा धाँजा पारेको थियो । त्यसैले पनि यसको सम्बन्ध विगतका ठूला भूकम्पसँग छ’, उनले भने । बैशाख १२ को गोरखा, बारपाक केन्द्र रहेको शक्तिशाली भूकम्पको दरार सिरहासम्म नपुगेको उनले जानकारी दिए । सुबोध गौतम, नागरिक दैनिकबाट

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell