top
ImageKhabar
सोमबार, 2 पुष, 2075 Monday, December 17, 2018

ImageKhabar Archive

सार्थक बहसमा पृथ्वीनारायण शाह  |  Published: January 28, 2016  |  बिहीवार 14 माघ, 2072  |  9:45 AM  |  Viewed: 367 times

पेशल आचार्य - आरम्भः‘बाह्र वर्षमा खोलो पनि फर्कन्छ’ भन्छन् –बूढापाकाहरू । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण कार्यको औचित्य सन्दर्भमा भने दसवर्ष मै इतिहास फर्किएको छ । समयले ल्याउने हरेक फेरबदललाई हामीले समाजका कसीमा मान्नै पर्छ । २०६३ सालमा नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको सरकारले बन्देज लगाएको ‘पृथ्वी जयन्ती’ मनाउने विषय सन्दर्भ यसपटक २०७२ साल पुस २३ गतेको मन्त्रीपरिषद्मा लामै बहस भएको थियो । तर सो सार्थक बहसले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउने कार्यचाहिँ सोही मन्त्रीपरिषद्ले निर्णय लिन सकेन । जसका लागि नेपालीले अब अर्को एकवर्ष कुर्नु पर्ने भएको छ ।

सरकारमा विभिन्न विचार र आस्थाका मानिसहरूको उपस्थितिले गर्दा सो निर्णय नभएको खबर बाहिर आयो । यसमा सत्यांश हुन सक्छ । ‘एमाओवादीका केही सदस्यहरू र विजय गच्छदारका केही रिजर्भेसनका कारण निर्णय हुन सकेन’ भन्ने कु्रा उपप्रधान मन्त्री तथा महिला बालबालिका मन्त्री सीपी मैनालीले एक अन्तर्वार्तामा सहर्ष बताए ।

नेकपा मालेका पुराना नेता मैनालीले ‘अनलाइन’ मा अन्तर्वार्ता दिएरै ‘पृथ्वीनारायण शाह र शाह वंशका अर्का राजा महेन्द्रलाई ‘राष्ट्र नायक’ को दर्जा दिए ।’ उनको तर्कमा विभिन्न हाँचका बुद्धिजीवी र राजनेताहरू पक्ष विपक्षमा उभिएका छन् । हामी पेशाकर्मीलाई वादी प्रतिवादीको पक्ष लिनु छैन । उभिनु पनि छैन । हाम्रो ब्रह्मले देखेको कुरो राख्न हामी समेतको लगानीमा आएको गणतन्त्रले सगौरव अधिकार दिएको छ ।

काँग्रेसको सहभागिता नभएको वर्तमान सरकारमा काँग्रेसका पालामा राष्ट्रिय एकता दिवस मनाउन रोकिएको कार्यले फेरि बहसमा आउने सुनौलो मौका पाएको छ । अहिलेलाई बहसलाई सकारात्मक मान्नु पर्छ । हरेक साँचो कुरा ढिलो सुरु हुन्छ । नेपालका सन्दर्भमा त्यो एकीकरण महाअभियान र पृथ्वीनारायण शाहको दुसाध्य सुकार्यलाई केही न्याय भएको छ ।

लोकतन्त्र भनेकै बहस हो । बहसले मानिसका तर्कलाई आफ्ना स्थानमा राख्ने सुविधा जो दिन्छ । यसपटक राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय नभए पनि गहिरो बहसको थालनी भएको छ । बहसमा प्रजातन्त्रवादी विचारका मात्र नभएर वामपन्थी विचारका नेताहरू पनि सहभागी भएको सवाललाई भने सकारात्मक रूपले हेर्नु पर्छ । भनाइ नै छ –वादेवादे जायते तत्वबोध ।आसा गरौं आउँदो २०७३ सालदेखि पक्कै राष्ट्रले पृथ्वीनारायण शाहलाई सम्झनेछ । औपचारिक कार्यक्रमका साथ ‘राष्ट्रिय एकता दिवस’ मनाइने छ ।

विषय प्रवेश: चिनीयाँ क्रान्तिका जननायक डा. सन् यात्सेनलाई राष्ट्रिय एकताका सूत्रधारका रूपमा लिइन्छ । उनले सदियौंदेखि मञ्चु वंशको पकड र मध्यकालीन अवस्थामा रहेको चीनलाई एकताको सूत्रमा बाँध्ने काम गरेका थिए । उनीपछि चीनमा अनेक शासक आए । पछि सुधारका लागि देङ् सिआयो पिङ्लाई नै पर्खनु प¥यो । आजको चीन डा. सन् यात्सेनको जगमा उभिए पनि विकासको चकाचौँध विकास भने देङ्का पालामा भएको भयो । अहिले चीन महाशक्ति राष्ट्र बन्ने होडमा अनेकानेक तरक्कीसाथ विश्व रङ्गमञ्चमा अघि जाँदो छ ।इतिहासको अध्ययन गर्दा आज पनि डा. सन् यात्सेन विशाल देश चीनका एकीकरणकर्ताका नामले पुजिन्छन् । उनको नामोच्चारणमा नै चिनीयाँ जनताको छाती गर्वले फुलेल हुन्छ ।

सन्दर्भ नेपालका बूढाराजा पृथ्वी नारायणको विषयसँग जोड्न खोजिएको हो । वाद, विवाद र संवादमा पक्ष विपक्षका धूरीमा नलागी भन्दा पृथ्वीनारायण शाह नेपाल राष्ट्रका निर्माता हुन् । आग्रह, विग्रह, पूर्वाग्रह र संग्रहका अनेका तुक्का र भनाइलाई एकास्थानमा पोको पारेर भन्ने हो भने –उनले जे, जुन समय र परिस्थितिमा छरिएर रहेका ससाना राज्यको एकीकरण गरेर नेपाललाई एक सबल राष्ट्रको रूपमा खडा गर्ने काम गरे बास्तवमा त्यो चानचुने काम थिएन ।

उनको अनुपस्थितिमा त्यो काम उनले गर्न नसकेका भए वा नजानेका भए अरू कसैले गर्ने थियो । जसले गरे पनि उसलाई नेपालीले ऐतिहासिक महापुरुषका रूपमा गणना गर्ने थिए । हामी इतिहासकारहरूका विभिन्न किम्वदन्ती र कथा कुथुङ्ग्रीहरूका आधारमा उनलाई एक अलौकिक इतिहास पुरुषका रूपमा उभ्याएको पाउँछौं । तर के कुरा साँचो हो भने उनी पनि हामी सामान्य मानिसजस्तै मानिस थिए । हामी र उनमा फरक के कुरामा थियो भने उनी दृढनिश्चयी, भविष्यद्रष्टा र बलवान् थिए । सपनालाई साकार गर्न जिन्दगीभरि लागि पर्थे । हामी जनसामन्य मानिस निदाउँदा मात्र सपना देख्छौं । बिउँझ्दा बिर्सन्छौं । सो सम्बन्धमा एउटा सानो उदाहरणको सहारा लिऊँ र कुराको चुरो बुझौं ।

पानीलाई आफ्नो स्थितिमा उम्लिनका लागि सामान्यतयाः सय डिग्रीको तापमान चाहिन्छ । तर कसैले उनान्सय डिग्री मै पानीलाई आगोबाट निकाल्छ भने उसले जतिजोटी तताए पनि पानी उम्लिन सक्दैन । तातो चाहिँ अवश्य हुन्छ । भन्नाको तात्पर्य उनीभन्दा अघि पनि नेपाल एकीकरणका प्रयास हुँदै नभएका चाहिँ होइनन् तर ती केवल आफ्ना राज्य विस्तारमा मात्रै सिमित भए । मल्ल राजा यक्ष मल्लका पालामा र सेनवंशी राजा मुकुन्द सेना पालामा राज्य विस्तारका घटना भएका छन् । पृथ्वीनारायण शाहले आफ्नो पिताले सम्वत् १७९९ मा नुवाकोट आक्रमण गरेर अघि बढाएको राज्यविस्तार कै घटनालाई पछि एकीकरणको रूप दिएका हुन् । उनी युग चेतनालाई ग्रहण गर्न सक्ने असाधारण व्यक्तित्व थिए । याने असाधारण मानिस । सम्वत् १७७९ पुस २७ गते गोरखामा जन्मेर सम्वत् १८३१ माघ १ गते नुवाकोट देवीघाटमा परम्धाम हुने शाह केवल ५२ वर्ष मात्रै सशरीर बाँच्न पाए । जीवनका जति वसन्त बाँचे ती सार्थक रूपले बाँचेका हुनाले उनी मृत्युपूर्व जति चर्चित र प्रशंशित भए त्योभन्दा बढी मृत्युपश्चात् भए ।आफ्ना लागि बाँच्ने मानिस जीवनभर बाँच्छ तर अरूका लागि बाँच्ने मानिस जीवनपछि पनि बाँच्छ ।

सात महिनामा जन्मेर, दस महिनाका वृन्दकेशर शाहको असामयिक मृत्यु भएपछि राजा हुने रोलमा पर्नु, जेठी आमा चन्द्रप्रभावतीबाट राजकुमारलाई चाहिने सबै सिपहरू सिक्न पाउनु र सोको सुव्यवस्था हुनु, बिसे नगर्चीसँग एक मोहरको योजना बनाउनु, गोत्र परिवर्तन गर्नु, पिताको सपनालाई साकार बनाउन नुवाकोट हान्नु र विजयश्रीको माला पहिरिनु साथै मनमा सबल नेपालको सपना उनेर गुरु गोरखनाथको महान्वाणिलाई सम्झँदै अघि बढ्नुजस्ता कतिपय कागताली कतिपय सहासी कर्मले सोच्दै नसोचेको सफलता पाएका हुन् । युद्धमै भएका बेला नुवाकोट दरबारमा आफ्ना कान्छा छोरा बहादुर शाहको जन्म भएको समाचार पाएर केही दिन युद्धबाट विश्राम लिई नुवाकोट पुगी आफ्नो भावी नेपाल विस्तारको चित्र नवजात शिशुमा देख्नु उनका महत्वाकांक्षी सपनाका केही उदाहरण मात्रै हुन् ।

राजोचित गुणले सुशोभित शाह नेपालका थोरै र सम्झनै पर्ने राजाका कोटिमा पर्छन् । छयालीसदेखि बहत्तरसम्म उनका गुणलाई अवगुणमा भँजाउन खोजे कतिपय नेपालका नेताहरूले तर अब फेरि एकाएक पृथ्वीनारायण  नेपाली जनका हृदयाकाशमा चम्किला नक्षत्र बनेर उदाउन बेर लाग्दैनन् । उनलाई तेजोबध गर्न इसाइ मेसिनरीले नै काम गरेको छ भन्ने तर्क पनि आयो जो उनले कान्तिपुर खाल्डो विजयपछि धर्म प्रचारमा आएका तत्कालीन केपुचिन पादरीहरूलाई उनले देश निकाला गरेका थिए ।

शाह वंशले नेपालमा राम्रानराम्रा सबै काम गरेका छन् । इतिहासकारहरू ती सबै घटनापरिघटनाहरूका विरुदावली गाउन सफल छन् भनेर भन्न सकिन्नँ । इतिहास प्रायः जित्नेको लेखिन्छ । संसारमा हार्नेको इतिहास लेखिएको छैन तर लेखिनु पर्ने चाहिँ हो । यस्तै लेखोट र रचनाहरूमा मात्र हार्ने मानिसहरूको इतिहास लेखिने हो वा सामान्य सुनाम वा रोमहर्ष हुने खालका काण्ड रचेर दुर्नाम कमाएका राजा, महाराजा र भारदारको नाम सम्झिने हो । लेखमा अन्य केही विशेष गर्न सकिन्नँ । इतिहासकै सहारा लिनै पर्छ ।

नेपालको इतिहासमा पृथ्वीनारायणका बारे इतिहासकार बाबुराम आचार्यले लेखेका चार भागका ग्रन्थ नै काफी छन् । पछिका इतिहासकारहरूले पनि शाहका बारेमा आलोचनात्मक शैलीमा लेखेका थिए र छन् । नयाँ पुस्ताले सो सबै अध्ययन गरी रेसारेसा केलाउनु पर्ने भयो । इतिहास नपढेको पुस्ता अराजक हुन्छ भनेर संसारमा पहिले इतिहास पढाउन फ्रान्सले थालनी गरेको हो । यहाँ आलेखबाट नेपालका एकीकरण कर्तामा उनका गुणदोषका आधारमा सम्झने प्रयास गरिएको हो ।

२०७२ पुस २७ गते पृथ्वी जयन्ती । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा सो दिन राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइयो । सिँहदरबारको पश्चिम मूल गेटमा अवस्थित पृथ्वी नारायणको शालिकमा माल्यार्पणसहित कमलादीस्थित नेप्रको भवनसम्म प्रभातफेरि कार्यक्रमसमेत आयोजना गरियो । सो कार्यक्रममा सेना, प्रहरी, राजनीतिक पार्टीका नेताहरू, व्यावसायी, विद्यार्थी, साहूमहाजन र थुप्रै गन्यमान्य व्यक्तित्वको उपस्थिति रहेको समाचार आयो ।

पृथ्वीनारायण नेपाल राष्ट्रका निर्माता हुन् । इतिहासको यो उपमालाई वर्तमानले सत्य सावित गर्दैछ । गर्नेछ । गर्नु पर्छ । कुत्सित मनसायले कसैको योगदानमाथि पानी फेँक्न पाइँदैन । पक्षमा सबै स्वीकार्ने र विषक्षमा सबै दुत्कार्ने शैलीले इतिहासका नायकहरूको मानसम्मान गर्दैन । बरू मानमर्दन गर्छ । नेपालमा अहिले मानमर्दनको परम्परा झन् गहिरिएर जाँदैछ ।

पृथ्वीनारायण शाहलाई मानमर्दन गरेर अहिलेको वर्तमानले पाउने केही छैन । राज्यमा विखण्डनका फिरफिरे उडाउनेहरूको जमातमा उनको नाम, काम र सुकार्यको गौरवपूर्ण इतिहासले राष्ट्रलाई एक बनाई राख्न मद्दत गर्छ । अहिले सो कुराको भेउ पाउन थालिएको छ । उनले राज्य विस्तार गरेका नभई एकीकरण कार्य गरेका हुन् । राज्य विस्तारको कार्य त उनीभन्दा धेरैअघि यक्ष मल्ल र मुकुन्द सेनजस्ता राजाहरूबाट गरिएको थिए । आफ्ना छेउछाउका ससाना राज्यलाई आफ्नो राज्यमा गाभ्नु एकीकरण पक्कै होओइन । राज्य विस्तार हो । तर पृथ्वी नारायणले एकीकरण गरेका हुन् । उनले समयको मागलाई चिनेर भौगोलिक रूपमा नेपाल राज्यको एकीकरण गरेका हुन् । उनले विजित राज्यका जनता र राजा रजौटाहरूलाई सम्मानपूर्वक उनीहरूको स्थान दिलाएका थिए । पूर्वी राज्यमा विजय हासिल गरिसकेपछि लिम्बू र राईहरूलाई उनले किपट दिएबाट यो कुराको पुष्टि हुनेगर्छ । कजाइ पद दिने सवालमा विराज बखेती र कालु पाण्डेको नाममा बौद्धिक छनोटको कार्यशैली प्रयोग गर्दै कालु पाण्डेलाई नै काजी बनाए । बनारसबाट हतियार ल्याएको कथा र बिसे नगर्चीसँग मोहर मागेको सन्दर्भ तथ्यपरक र रोचक छ । यी सब इतिहासका पूँजी बनेका छन् मात्र नेपाली युवापुस्ताले ती कुराको मनन गर्नु आवश्यक छ ।

उनको कार्य एकीकरण नै भएको प्रमाण उनीपछिका उनका छोराहरू सिँहप्रताप शाह र बहादुर शाहले नेपालको एकीकरणमा आफ्नो दिलो ज्यान लगाएर रगत पसिना खर्चिएबाट प्रष्ट हुन्छ । योग्य पिताका सुयोग्य पुत्रले तीन गुना ठूलो देश बनाएर यश स्थापना समेत गरेका छन् । यस सम्बन्धमा पृना शाहकी बहु राजमाता राजेन्द्र लक्ष्मीको पनि जशप्रद योगदान भएको देखिन्छ । ती सबै महामनाहरूमा हामीले यथोचित रूपमा नमन गर्न कञ्जुस्याँइ गर्नु हुँदैन थियो ।
    पृथ्वीनारायण शाह समेत उनका सन्तान र वंशजलाई नमन गरौं ।

फेरि प्रसङ्ग वर्तमान कै ।

सीपी मैनाली पुराना कम्युनिष्ट नेता र अहिलेका सरकारमा उपप्रधानमन्त्री समेत । जनस्तरमा एकता दिवसको बारेमा व्यापक बहस आरम्भ भएको छ । यो तर्कमा केकति दम छ ? त्यो भविष्यले निक्र्यौल गर्दै जाला । जानु पर्छ । अहिलेको मधेश आन्दोलन, त्यसलाई हेर्ने सत्तापक्षको चस्मा, प्रतिपक्षको नीति र जनस्तरबाट गरिएको बहसलाई हेर्दा पृथ्वीनारायण शाह फेरि एकपटक गहिरो चर्चा र चासोका विषय भए ।

नेपाल एकीकरण कार्य आफैँमा सामयिक थियो । जसले ६ अक्टुबर, सन् १७६८ मा भएको कान्तिपुरका विजित राजा जयप्रकाश मल्लको अनुरोधमा आएको करिब २५ सय संख्याको कप्तान किनलकको अंग्रेजी फिरिङ्गी शक्ति र सिन्धुली गढीमा भएको घमासान युद्धलाई लिनु र मूल्याङ्कन गर्नु पर्ने हुन्छ । सो युद्धमा पृथ्वी नारायणको कुशल रणकौशलता कै कारणले चौध सयजति विदेशी सेनालाई मारेर बाँकीलाई लखेट्न गोर्खाली सफल भएका थिए । आज पनि सिन्धुली गढीलाई विजय किल्लाका रूपमा सम्मान दिने गरिन्छ । सो युद्धले शाहलाई पाँचसय हातहतियार मात्र उपलब्ध गराएन । अङ्गे्रजहरू नेपाललाई लिनका लागि विसं. १८७२ (इ.सं १८१४–१६) को युद्ध लड्न समेत लागि परे । नेपालको दक्षिणी सीमाका ११ स्थानबाट एकैपटक युद्ध हानेपछि भीमसेन थापाको पालामा नेपालले सुगौली सन्धि गर्नु परेको थियो । सुगौली सन्धिले नेपालको विशाल मानचित्रलाई मेचीकालीमा खुम्च्याएको भने पक्कै हो । प्रधान शासक बलिया र भीमसेनलाई चौतर्फी सहयोग मिलेको थियो भने सो युद्ध नेपालका पक्षमा हुने थियो ।
    समापन:र यो पनि साँचो हो कि पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण मात्रै गरेनन् । अङ्ग्रेजी विस्तारवादी शक्तिको पनि बढ्दो राप र तापलाई खुम्च्याई दिए ।

अन्ततः अंग्रेजको विस्तारवादी नीतिलाई नेपाल प्रवेश हुन दिएन । उनका सन्तानले सो कार्यलाई पच्छ्याए । बहादुर शाहले आफ्ना पिताको कार्यलाई तेब्बर बनाएर वृहत् नेपालकै निर्माण गरे । सुगौली सन्धीले नेपालको क्षेत्रफल घटाएर मेची कालीमा संकुचन बनायो ।

पृथ्वीनारायणले एकीकरण नगरेका भए पनि समयले अर्को नायक जन्माउने थियो । अहिले मुलुकमा गणतन्त्रात्मक शासन व्यवस्था र कम्युनिष्ट प्रधानमन्त्री विराजमान छन् । दुई दर्जनभन्दा बढी मन्त्रालयमा करिब ४० जनाको जम्बो मन्त्रीमण्डल शासनारुढ छन् । आधादर्जन उपप्रधान मन्त्री छन् । केही विनाविभागीय छन् । नायक ओली उखान टुक्का र हावादारी सपना बाँडेर शासन लम्ब्याउने प्रयासमा निमग्न छन् । मुलुकीले नपाउनुको दुःख पाएको यो अवस्थामा चरम अभाव र कालो बजारीले प्रश्रय पाएका छन् । यस्तो बेलामा दूरदर्शी र गतिलो शासक मुलुकमा चाहिने रहेछ भन्ने प्रत्येक नेपालीका घैंटामा घामजस्तै लागि सकेको छ ।

परराष्ट्र नीति न नयाँ आउन सक्यो । न पुरानोलाई निरन्तरता दिइयो । पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति सिद्धियो । संविधानसँगै देशमा भित्रिएको कचिङ्गलले देशको अर्थतन्त तहसनहस भएको छ । देश झन्झन् ओरालो लाग्दै छ । विकासका सूचकहरू खुम्चिदै छन् । पढेलेखेका युवाहरू विदेश पलायन हुँदै गएको स्थितिमा देशमा जातीय संघीयताका बखेडाहरू बढेका छन् । देश विखण्डनको अवस्थामा पुगेको छ । यस्तो स्थितिमा अहिले नयाँ पृथ्वीनारायण शाहको खाँचो रहेको देखिएको छ । उतिखेरका पृथ्वी नारायणले भूगोलको एकीकरण गरेथे । अब जन्मने पृथ्वीनारायणले मनको एकीकरण गर्नु पर्नेछ ।

छिटै पृथ्वीनारायण जन्मेला त ? अहिले सर्वत्र चासोको विषय भएको छ । नेपालमा अहिले जुन खिचातानी खेल राजनीतिको नाममा चलिरहेको छ । त्यसको अन्त्य जरूरी भैसकेको छ । यदि यसो हुन सक्यो भने राष्ट्रनिर्माता विशेषणले सुनाम पाएका पृथ्वीनारायण शाहको आत्माले चिरशान्ति पाउने पक्का छ । देश भए मात्रै देश भित्रका राजनीतिक शक्तिहरूले आआफ्ना दर्शन, मूल्य, मान्यता, वाद र विवादलाई अगाडि लैजान राजनीति गर्ने हुन् । देशै नरहे केमा राजनीति गर्ने ? अहिलेको अवस्थालाई मध्यनजर गर्दा देशै नरहने होकि जस्तो परिस्थिति बढिरहेको छ । आसा छ, सबैको बुद्धि सद्बुद्धिमा परिणत हुनेछ । देश निर्माणका लागि सबै एकै स्थानमा आऊन् । प्रकृतिले वरदानका रूपमा दिएको यो देशलाई पृथ्वीनारायण शाहले भनेझैँ ‘सबै जातको फूलबारी’ का रूपमा विकसित गर्ने मौका मिलोस् । सबैमा चेतना भया ।

खबरहरू तपाईंको ईमेलमा प्राप्त गर्नुहोस्ः


तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख,
सुझाव, कार्यक्रम वा अन्य कुनै
जानकारी आदि छ भने कृपया
connect@imagekhabar.com मा पठाउनुहोला ।

ईमेज समूह

Image Channel Image FM 97.9 Image News FM 103.6 Imagebuysell